मेरो पत्र Logo

महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा सामाजिक परीक्षण सम्पन्न, पारदर्शिता र सुधारतर्फ प्रतिबद्धता

Mero Patra
मेरो पत्र
ad
महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा सामाजिक परीक्षण सम्पन्न, पारदर्शिता र सुधारतर्फ प्रतिबद्धता
adad


सिन्धुली , साउन १४ – हरिहरपुरगढी गाउँपालिका–४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा आज सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य सेवा सुधार र पारदर्शिता कायम गर्न आयोजित कार्यक्रममा चौकीमार्फत विगत वर्षमा प्रदान गरिएका सेवा, खर्च विवरण, औषधि वितरण र अन्य प्रशासनिक गतिविधिहरू सार्वजनिक गरिएको हो।
कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष कमल कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सेवाग्राही, स्वास्थ्य स्वयंसेवक, महिला समूह, शिक्षक, युवाहरू र अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।


स्वास्थ्य चौकीका इन्चार्ज रोशन कुमार चन्द्रवंशीले आर्थिक वर्ष २०८१/८२ को समग्र प्रतिवेदन प्रस्तुत गर्दै, चौकीबाट प्रदान गरिएका सेवा, स्वास्थ्य जनशक्ति उपस्थिती, औषधिको अवस्था, परिवार नियोजन, खोप कार्यक्रम, पोषण सेवा, विद्यालय स्वास्थ्य सेवा लगायतका विवरणहरू प्रस्ट पारेका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल कुमार राईले भने,
“स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यसको गुणस्तर सुधारमा सबैको साथ, सहयोग र निगरानी जरुरी छ। प्राप्त सुझावअनुसार आवश्यक सुधारका काम अगाडि बढाइनेछ।”


सामाजिक परीक्षणमा सहभागी सेवाग्राहीहरूले स्वास्थ्य सेवा अझ प्रभावकारी, सहज र जवाफदेही बनाउने विषयमा सुझाव दिएका थिए। उनीहरूले नियमित औषधि आपूर्ति, स्टाफको स्थायी उपस्थिती, जनमैत्री व्यवहार र गुनासो सम्बोधन प्रणालीको सुदृढीकरणमा जोड दिएका थिए।
कार्यक्रमले स्वास्थ्य चौकीमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

सेयर गर्नुहोस्: