बागमती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३को बजेट पारित





बागमती: मकवानपुरको बागमती गाउँपालिकाको बजेट पारित भएको छ । शनिबार सम्पन्न गाउँसभाबाट आर्थिक वर्ष २०८२/८३ लागि विनियोजित बजेट पारित भएको हो ।
शनिबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको गाउँसभामा विभिन्न विधेयकमाथी छलफल भई अनुमोदन भएको छ। बागमतीले आर्थिक वर्ष २०८२/८३ लागि ८३ करोड ७२ लाख ६७ हजार ६ सय ७४ रुपैयाँ रकमको बजेट ल्याएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरेको छ। यो क्षेत्रमा सबैभन्दा बढी ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको हो ।

यस्तै पुर्वधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तावित रकम आर्थिक वर्ष २०८१/८२ को भन्दा १२ करोडले बढी हो । गाउँपालिकाले वर्ष २०८१र८२ का लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
शनिबार भएको गाउँसभामा बागमती गाउँपालिकाको आर्थिक विधेयक, २०८२, विनियोजन विधेयक, २०८२, साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी बिधेयक, २०८२, स्थानीय सडक सम्बन्धी विधेयक, २०८२, यातायात व्यवस्थापन सम्बन्धी विधेयक, २०८२, समाज कल्याण सम्बन्धी विधेयक, २०८२, संघ-संस्था (दर्ता तथा नवीकरण) सम्बन्धी विधेयक, २०८२, कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७५ लाई प्रतिस्थापन गर्न बनेको कृषि तथा पशु व्यवसाय प्रवर्द्धन विधयेक, २०८२, खेलकुद सम्बन्धी विधेयक, २०८२, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ स्वीकृतिका लागि पेश भएकोमा अनुमोदन भएको छ।