मेरो पत्र Logo

कीर्तिपुर क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु

Mero Patra
मेरो पत्र
ad
कीर्तिपुर क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु
adad

अन्तरराष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति भइरहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु गरिएको छ। मैदानलाई अन्तरराष्ट्रियस्तरको खेलमैदान बनाउने उद्देश्यले गत फागुन महिनादेखि स्तरोन्नतिको काम थालिएको हो।

पहिलो चरणको निर्माण अन्तर्गत दर्शक क्षमता बढाउँदै १० हजार दर्शक अट्ने प्यारापिट निर्माण तथा राति पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानको काम अघि बढाइएको हो। मैदानको पूर्व र पश्चिमतर्फ गरी आठवटा खण्डमा विभाजन गरिएको प्यारापिटमा सिट जडान सुरु भएको हो।

निर्माणको जिम्मा पाएको बीजी कन्स्ट्रक्सन कम्पनीका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पाँचवटा आकर्षक रङका कुर्सी जडान गरिनेछ। ती कुर्सीहरू पहेलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला रङका हुनेछन्। यसले रङ्गशालालाई आकर्षक र जीवन्त बनाउने उनको भनाइ छ।

प्रत्येक खण्डमा ६५२ वटा कुर्सी राखिने भएकाले कुल ५ हजार २१६ सिट जडान गरिनेछ। मैदानको पूर्ण निर्माण सम्पन्न भएपछि बाँकी दर्शकक्ष पनि थप गरिने र सम्पूर्ण सिट क्षमतालाई १० हजार पुर्‍याइने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ।

यस परियोजनाबाट कीर्तिपुर क्रिकेट मैदान अन्तरराष्ट्रिय मापदण्डमा पुग्ने विश्वास गरिएको छ। विशेषतः नेपालमा घरेलु तथा अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न अझ सहज हुने निर्माण पक्षको अपेक्षा रहेको छ।

सिट जडानसँगै मैदानको अन्य संरचनाहरू पनि क्रमशः निर्माण तथा स्तरोन्नति हुँदै छन्। मैदानमा आठवटा फ्लडलाइट पनि जडान गरिनेछ, जसले रातको समयमा पनि खेल सञ्चालन गर्न सकिने सुविधा दिनेछ।

सेयर गर्नुहोस्: