ललितपुरमा आक्रमणको आरोपमा पक्राउ परेकालाई रिहा गर्ने न्यायाधीशविरुद्ध उजुरी





सानेपास्थित सार्वजनिक स्थानमा एक युवकमाथि भएको कुटपिट घटनामा पक्राउ परेका दुई जनालाई अदालतले रिहा गरेपछि सो आदेश दिने न्यायाधीश हरिप्रसाद कोइरालाविरुद्ध न्याय परिषदमा औपचारिक उजुरी दर्ता भएको छ।
गत असार ८ गते दीपक शाक्यमाथि बियरको बोतल र हेल्मेटले आक्रमण भएको घटनापछि प्रहरीले महेन्द्र रावल र धर्मराज खड्कालाई नियन्त्रणमा लिएको थियो। तर ललितपुर जिल्ला अदालतका न्यायाधीश कोइरालाले “पक्राउ अनुमति दिनु नपर्ने” भन्दै दुवैलाई रिहा गर्न आदेश दिए।
पीडित पक्षले घटनाको स्पष्ट दृश्य देखिने सीसीटीभी फुटेज, चिकित्सकीय रिपोर्ट र घाउ जाँच फाराम अदालतमा पेश गरेको भए पनि गम्भीर प्रकृतिको देखिने यो मुद्दामा पक्राउ स्वीकृति नदिएको भन्दै न्याय परिषद्मा कोइरालाविरुद्ध उजुरी दर्ता गरिएको हो।
न्याय परिषद् ऐन, २०७३ को दफा १० अनुसार उजुरी दर्ता भएको जानकारी प्राप्त भएको छ। उजुरीमा न्यायिक निर्णय प्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठाइएको छ।
न्यायाधीश कोइराला यसअघि चर्चित सिद्धबाबा प्रकरणमा सफाइ दिने फैसलाका कारण पनि आलोचनाको घेरामा परेका थिए।