मेरो पत्र Logo

एसईईमा मावि महेन्द्रझ्याडी पालिकाकै उत्कृष्ट बन्न सफल

Mero Patra
मेरो पत्र
ad
एसईईमा मावि महेन्द्रझ्याडी पालिकाकै उत्कृष्ट बन्न सफल
adad

सिन्धुली: हरिहरपुरगढी गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीमध्ये सबैभन्दा धेरै उत्तीर्णको संख्या महेन्द्रझ्याडी माविबाट देखिएको छ। ३५ जना परीक्षार्थीमध्ये २८ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ७१.७५% नतिजा हो।

गाउँपालिकाभरिका आठवटा विद्यालयबाट जम्मा २६७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, जसमध्ये मात्र ७८ जना उत्तीर्ण भएका छन्। समग्रमा गाउँपालिकाको औसत उत्तीर्ण प्रतिशत २९.२१% मात्र देखिएको छ।

परीक्षाफल विश्लेषण गर्दा भानुभक्त मावि तिनकुना र मावि कर्मीडाँडा दुबै विद्यालयबाट समान ११-११ जना उत्तीर्ण भएका छन्, तर सहभागिता र प्रतिशतको आधारमा फरक देखिन्छ। तिनकुनाबाट २४ मध्ये ११ जना उत्तीर्ण भई ४५.८३% नतिजा आएको छ भने कर्मीडाँडाबाट ३८ मध्ये ११ जनाले मात्र सफलता पाएका छन्, जसको प्रतिशत २८.९४% छ।

कुशेश्वर मावि र जनता मावि बखफरको स्थिति अत्यन्तै कमजोर देखिएको छ। कुशेश्वरमा ३१ जनामा २ जना (६.४५%) र बखफरबाट ५५ जनामध्ये जम्मा २ जना (३.६३%) मात्र उत्तीर्ण भएका छन्।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले विद्यालय, शिक्षक र व्यवस्थापन समितिलाई बधाई दिँदै यस वर्षको नतिजाले शिक्षा क्षेत्रमा अझ सुधारको खाँचो देखिएको बताउनुभयो। साथै, उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिँदै शिक्षा क्षेत्र सुधारमा सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को जिल्लागत नतिजा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, जिल्लाबाट ४ हजार ९४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ४ हजार ७६६ जना सामान्य तथा १७७ जना प्राविधिक धाराका विद्यार्थी रहेका छन्।

जिल्लाबाट जम्मा ३ जना विद्यार्थीले ४.०० पूर्ण ग्रेड (GPA) ल्याएका छन्। त्यस्तै GPA ३.६० देखि ३.९९ सम्म ४०५ जना, GPA ३.२० देखि ३.५९ सम्म ८४० जना, GPA २.८० देखि ३.१९ सम्म १ हजार २६६ जना र GPA २.४० देखि २.७९ सम्म १ हजार ६१ जना विद्यार्थी रहेका छन्।

GPA २.०० देखि २.३९ सम्म १५१ जना विद्यार्थीले मात्र उतीर्णता पाएका छन् भने १ हजार २१७ जना विद्यार्थी ‘एनजी’ (Non Graded) समूहमा परेका छन्, जुन असफलको सङ्ख्या हो।

सबैभन्दा धेरै विद्यार्थी GPA २.८० देखि ३.१९ समूहमा छन् भने दोस्रो धेरै ‘एनजी’ समूहमा छन्। यसले जिल्लामा केही विद्यार्थीको नतिजा राम्रो आएको देखिए पनि ठूलो सङ्ख्याले न्यून ग्रेड प्राप्त गरेका छन्।

सिन्धुलीमा एसईई परीक्षामा विद्यार्थीको प्रदर्शनले शिक्षा प्रणालीमा अझ सुधारको आवश्यकता औंल्याएको देखिन्छ।

सेयर गर्नुहोस्: