मेरो पत्र Logo

डेंगु संक्रमण बढ्दो, सावधानी अपनाउन विज्ञको आग्रह

Mero Patra
मेरो पत्र
ad
डेंगु संक्रमण बढ्दो, सावधानी अपनाउन विज्ञको आग्रह
adad


काठमाडौं, असार २७: मनसुन सुरु भएसँगै देशभर डेंगु संक्रमण फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार जनवरी १ देखि जुन ८ सम्म ७२ जिल्लामा १,२५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

काठमाडौँमा सबैभन्दा बढी १३२ जना संक्रमित भेटिएका छन्। यस्तै कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जनामा संक्रमण देखिएको छ।

ईडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु शून्यमा ल्याउने अवस्था नभए पनि सचेत रहँदा नियन्त्रण गर्न सकिन्छ। उनले मनसुन यस वर्ष समयभन्दा चाँडै सुरु भएको र अत्यधिक वर्षाको पूर्वानुमान भएकाले संक्रमण फैलन सक्ने सम्भावना बढी रहेको बताए।

डा. दाहालले तीनै तहका सरकार, समुदाय र व्यक्तिको समान सहभागिताबाट डेंगु नियन्त्रण र यसबाट मृत्यु हुने दर घटाउन सकिने बताए।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यसबाट जोगिन पूरा शरीर ढाक्ने कपडा लगाउने, झुलको प्रयोग गर्ने, खाल्डाखुल्डी पुर्ने, घर वरपर पानी जम्न नदिने, ट्याङ्की वा भाँडाकुँडालाई राम्रोसँग छोप्ने, तथा प्रयोगमा नआउने प्लास्टिकजन्य वस्तु र भाँडाहरु हटाउने जस्ता उपायहरू अपनाउन विज्ञहरुले आग्रह गरेका छन्।

सेयर गर्नुहोस्: