सिन्धुलीको हरिहरपुगढी गाउँपालिका वडा नम्बर १ मा आज ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न भएको छ। शिविर मार्फत ५ सय १४ जना सेवाग्राही लाभान्वित भएका छन ।
शिविरमा वडा नम्बर १ का वडा अध्यक्ष जित बहादुर थिङ, पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीको उपस्थितीमा स्थानीयहरुलाई सेवा प्रदान गरिएको थियो ।

शिविरमा ८० जनालाई सामाजिक सुरक्षा भत्ता, ४० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र यसैगरी ५४ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै ३४० वटा पशुको समेत उपचार गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।
भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।




