मेरो पत्र Logo

संघीयताले विकासमा नयाँ आयाम ल्याएको छः कांग्रेस नेतृ उपाध्याय

Mero Patra
मेरो पत्र
ad
संघीयताले विकासमा नयाँ आयाम ल्याएको छः कांग्रेस नेतृ उपाध्याय
adad

मकवानपुर: संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले संघीयताले नेपालको विकासमा नयाँ आयाम ल्याएको बताउनुभएको छ ।
उहाँले संघीयतापछि विकासमा नागरिकको पहुँचमा वृद्धिभएको भन्दै सामान्य विकास निर्माणको कामलाई लिएर सिंहदरबारसम्म पुग्ने पर्ने विगतको अवस्थाको संघीयताले अन्त्य गरेको बताउनुभयो ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ स्थित हर्दामा नवनिर्मित हर्दा खहरे टोल वोरिङ सिँचाइ योजनाको बुधबार उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उक्त योजनाको पूर्व जलश्रोत राज्यमन्त्री समेत रहनुभएका उपाध्याय र बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कांग्रेस सहमहामन्त्री उपाध्यायले सिँचाई सुविधा उपलब्ध भएसँगै अब नगदेबालीदेखि पशुपालनसम्मलाई सहज हुने बताउनुभयो । रासायनिक मलमा धेरै बजेट अनुदानका नाममा गईरहेको छ, अब जैविक मललाई प्रोत्साहित गर्नु आवश्यकभएको भन्दै उहाँले भन्नुभयो जैविक मलको प्रयोगले उत्पादनमा समेत वृद्धि हुन्छ, जैविक मलमा अनुदान दिने गरी बजेट आउँदै छ ।

उहाँले अब विकासको रणनीति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारले कृषि र पशुपालन प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाउनुभयो । मन्त्री खड्काले सिँचाइ सुविधाकै अभावमा नेपाल कृषि उपजमा समेत परनिर्भर बन्नु परेको भन्दै आत्मनिर्भर हुने क्षेत्र कृषिमा राम्रो मल, बिउ र सिँचाइको व्यवस्था गर्नसके रोजगारी सिर्जनासमेत गर्न सकिने बताउनुभयो । उहाँले सिँचाइलाईमा प्राथमिकता दिनु आवश्यक भएको औँल्याउँदै विकासका लागि तीनवटै तहबिच समन्वय आवश्यकभएको जोड दिनुभयो । उहाँले बोरिङ भएको ठाउँमा रिचार्ज प्रणाली आवश्यकभएको भन्दै प्रदेश सरकारले खानेपानी र सिँचाइलाई प्राथमिकतामा राखेर आगामी योजना ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सुख्खा टोलमा सिँचाई सुविधा उपलब्ध भएसँगै स्थानीयको आयआर्जनमा पनि सहयोग पुग्ने भन्दै पालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले कृषि, सिँचाई, भौतिक पूर्वाधारलगायतकका मन्त्रालयहरुबिचको समन्वय अभावमा योजनाबद्ध विकासले गति लिन नसकेको भन्दै दुध, तरकारीलगायतका स्थानीय उत्पादनलाई बजारको समस्या नरहेको बताउनुभयो ।

बागमती प्रदेश सरकार अन्तर्गतको भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, चितवनमार्फत हर्दा खहरे टोल वोरिङ सिँचाइ योजना स्थानीय उपभोक्ताको करिब तीन लाखसहित ३६ लाख ११ हजार ३९१ हजार रुपियाँको लागतमा निर्माण सम्पन्नभएको हो ।
भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख केशव जैशीले योजनाबाट हाल १० बिगाहा र थप पाँच बिगाहा क्षेत्रफल जमिनमा सिँचाई सुविधा उपलब्ध हुने जानकारी दिनुभयो ।
हर्दा खहरे टोल वोरिङ सिँचाइ उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस मकवानपुर नेता आनन्दराम पराजुली, बकैया गाउँपालिका पूर्व अध्यक्ष दामोदर गौतम र बकैया गाउँपालिका वडा नं। ७ का वडाध्यक्ष मानबहादुर सिन्तानले सिँचाई सुविधा उपलब्ध भएकोले कृषि र उत्पादनसँग जोडिएर आयआर्जनमा लाग्नुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस्:
adad