मेरो पत्र Logo

बागमतीको विकट भिम्बादमा पुग्यो खानेपानी सुविधा, स्थानीय हर्षित

Mero Patra
मेरो पत्र
ad
बागमतीको विकट भिम्बादमा पुग्यो खानेपानी सुविधा, स्थानीय हर्षित
adad


बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २  स्थित विकट गाउँ भिम्बादमा खानेपानीको सुविधा पुगेको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले एक कार्यक्रमका बीच भिम्बादमा नवनिर्मित खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो ।


खानेपानीको उद्घाटन गर्नुहुँदै अध्यक्ष घलानले खानेपानी सुविधाको ठिक ढङ्गले संरक्षण गर्न र उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले गरेको सहयोगमा मिहेनत गरेर खानेपानी ल्याउन सफल भएको भन्दै उहाँले योजना समितिलाई धन्यवाद दिनुभयो । राज्यले दिएको सुविधा उपयोग गरेर गाउँलाई नमुना बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले उक्त क्षेत्रमा रहेका अन्य समस्याहरुलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने र सबै जना श्रमदानमा जोडेर यसलाई पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणमा सरकारको मात्र मुख हेरेर नहुने भन्दै सबै जना श्रममा जोड्नुपर्ने बताउनुभयो ।


यस्तै खानेपानी योजना समितिका अध्यक्ष खिल बहादुर ठाडा मगरले भीर पाखाहुँदै कष्ट गरेर खानेपानी ल्याउन सफल भएको बताउनुभयो । ‘एक घण्टाभन्दा बढी समय लगाएर तलबाट बोकेर खानेपानी ल्याउनुपर्ने अवस्थाबाट मुक्त भएका छौं । स्थानीय सरकारले घरघरमा खानेपानी सुविधाका लागि बजेट उपलब्ध गरायो अनि हामीले काम गर्‍यौँ आज पानी आएको छ ।’ उहाँले भन्नुभयो ।


खानेपानी योजनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पानीको मुहानबाट ३ किलोमिटरभन्दा बढी दुरीमा ट्याङकी निर्माण भएको छ । खानेपानी योजनाबाट २९ घरधुरी लाभन्वित भएका छन् ।


कार्यक्रममा बागमती–२ का वडाध्यक्ष जनक पहरी, ४ नम्बर वडाध्यक्ष दन्तलाल माझी, २ नम्बरका वडा सदस्यहरु राजु तितुङ, कृष्ण बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती–२ कमिटीका इन्चार्ज जीवन पहरी, वडा कमिटी अध्यक्ष राजकुमार सेन्चुरी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्: