मेरो पत्र Logo

हिमालयन शेर्पालाई हराउँदै आयोजक बागमती क्वाटरफाइनलमा

Mero Patra
मेरो पत्र
ad
हिमालयन शेर्पालाई हराउँदै आयोजक बागमती क्वाटरफाइनलमा
adad


बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै आयोजक बागमतीले विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल समयमा बागमतीको लागि एलिश चौलागाईले दोस्रो हाफको २ औं मिनेटमा र हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । खेलको म्यान अफ द म्याच एलिस घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बागमतीका गोलरक्षक उमेश पाख्रिनले ९० औँ मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछी मैदान बाहिरिए। त्यही अवसरलाई सदुपोग गर्दै श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

टाइब्रेकरमा बागमतीका लागि एलिश महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरे । यस्तै हिमालयनका लागि दिवस उरौ, सत्यम शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले गोल गरे । हिमालयनका सन्दीप श्रेष्ठको प्रहार बागमतीका गोलरक्षक पवन आले मगरले उत्कृष्ट बचाउ गरे ।
विजयी आयोजक बागमतीले क्वाटरफाइनमा स्थान बनाएको छ । अब आयोजकले क्वाटरफाइनलमा फाल्गुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलि बिहिबारको खेलमा सिमराको नवजनजागृती युवा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्धर्पा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछ । नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्: