सिन्धुलीको महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै‘नमूना स्वास्थ्य संस्था’घोषित





जनस्वास्थ्य कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरेको छ।
मिनिमम सर्भिस स्ट्यान्डर्ड (एमएसएस) अन्तर्गत गरिएका मूल्याङ्कनमा चौकीले ९० अंक प्राप्त गर्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै नमूना संस्थाको मान्यता पाएको हो।
शनिबार आयोजित विशेष कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलले गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबालाई प्रमाणपत्र र आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष वाइबाले महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै नमूना बन्नु गौरवको विषय भएको बताउँदै यो उपलब्धिलाई निरन्तरता दिन संस्थागत सुधार, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा अझ प्रभावकारिता ल्याइने प्रतिबद्धता जनाउनुभयो।

सोही अवसरमा सिन्धुलीका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले महेन्द्रझ्याडी स्वास्थ्य चौकीको स्थलगत अवलोकन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार राईले गर्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले गर्नुभएको थियो।
स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने प्रयासस्वरूप गरिएको मूल्याङ्कनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीको सफलताले अन्य संस्थाहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।