महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा अनुगमन


सिन्धुलीको हरिहरपुरगढीमा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादव, हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा र स्वास्थ्य शाखा प्रमुख मनोज सुयाल सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा स्वास्थ्य चौकीको अवस्था, बर्थिङ सेन्टर, ल्याब, ओपिडी सेवा, भवन निर्माण स्थल, एक्सरे कक्ष, बिरामी भर्ना कक्षलगायत विभिन्न विभागका सेवाहरुको अनुगमन तथा उपचार सेवाका उपकरण चेकजाँच र सरसफाइ भए नभएकोबारे जानकारी लिनुभएको थियो ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादवले अनुगमनका क्रममा स्वास्थ्य चौकीको अत्यावश्यक उपकरणको अभाव तथा स्वास्थ्यकर्मीहरुसँग समस्याहरुबारे जानकारी लिनुका साथै सुधारका उपायहरुबारे सुझाव दिनुभएको थियो । उहाँले स्वास्थ्य चौकीलाई अत्यावश्यक केही उपकरण प्रदान गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले गाउँपालिकाले स्वास्थ्य चौकीको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि बजेट बिनियोजन गरेको बताउनुभयो । अनुगमनका क्रममा उहाँले भौतिक संरचना राम्रो र जनशक्तिसहितको उपकरण भए पनि सरसफाइमा ध्यान नदिएको पाइएकोले सरसफाइमा ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।
महेन्द्रझ्याडी स्वास्थ्यचौकीमा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा फार्मेसी सन्चालनको तयारीमा रहेको छ ।