नेतृत्व विकास र कार्यशाला विद्यालय सुधार याेजना निर्माण सम्बन्धी कार्यशला गाेष्ठी सम्पन्न


बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक लक्षित विद्यालय सुधार योजना तथा नेतृत्व विकास सम्बन्धी कार्यशाला सम्पन्न भएकाे छ । गत साेमबारदेखि सञ्चालन भएकाे सुरु भएको गाेष्ठी बुधबार सम्पनन्न भएकाे हो ।
विद्यालयमा भर्ना अभियान संचालन भैरहेका बेला शैक्षिक सत्रको सुरुवातको अवसर गाउँपालिकाले सबै विद्यालयका प्रधानाध्यापकलाई बोलाएर विद्यालय सुधार निर्माण कार्यशाला संचालन गरेको हो।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले प्रधानाध्यापक नै विद्यालयको मियो भएको बताउनुभयो ।
कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै उहाँले भन्नुभयो `विद्यालयको अवस्था सप्रिनु र बिग्रिनुमा प्रधानाध्यापककै अहम् भूमिका हुन्छ। गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि अभियान नै संचालन गरिरहेको छ।´ उहाँले विगतको तुलनामा विद्यालयमा उल्लेख्य भौतिक सुधारका काम भएको भए पनि अब कक्षाकोठाभित्रको शैक्षिक गतिविधि र बालबालिकाको सिकाइ उपलब्धीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले अहिले देशभरि सामुदायिक विद्यालयको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । यो अवस्थालाई बदल्न सकिने उहाँको भनाई छ । सबै मिलेर सार्वजनिक शिक्षाको अवस्थालाई सुधार गर्न सके देशको मुहार नै बदल्न सकिने उहाँले बताउनुभयो ।
तीन दिनसम्म संचालित कार्यक्रममा योग ध्यान विधि, प्रधानाध्यापकको नेतृत्व क्षमताको विकास, देशभरिका विभिन्न स्थानीय तह तथा विद्यालयमा प्रयोग भएका सफल अभ्यास, शिक्षा सुधारको मौलिक मोडलका बारेमा चर्चा तथा प्रस्तुति गरिएको थियो। विद्यालय सुधारका लागि आवश्यक भौतिक सुधार बाहेक बालबालिकाको शैक्षिक सुधार, शिक्षण गतिविधि, बालबालिकाको चौतर्फी विकास, विद्यालयको प्रशासनिक सुधार, अभिभावक-विद्यालय सम्बन्ध, सीप शिक्षा, एक्काइसौँ शताब्दिका बालबालिकाको क्षमता अनुरुपको विद्यालयमा शैक्षिक वातावरण कसरी निर्माण गर्ने भन्ने विषयमा अन्तरक्रिया तथा योजना निर्माण गरिएको थियो।
विद्यालयका सबै भन्दा संवेदनशील विषयमा यही वर्ष सुधार गर्ने गरी सबै विद्यालयको शैक्षिक सत्र २०८२ का लागि वार्षिक लक्ष तय गर्दै लक्ष हासिल गर्नका लागि मासिक कार्ययोजना समेत निर्माण गरेका थिए।
कार्यक्रममा सहभागी शिक्षक दीपक घिमिरेले विगतमा हुने कार्यक्रम भन्दा यो कार्यशाला अगल लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो “यस पटक हामीले विद्यालयमा गर्नै पर्ने साना मसिना र सबैभन्दा संवेदनशील काममा ध्यान दिएका छौं” ।
यस्तै अर्का शिक्षक चन्द्रावती कार्कीले अन्य तालिममा माध्यमिक तहका विद्यालयका विषयवस्तु बढी छलफल हुने गरेको तर यस पटक आफुहरुले आफ्ना विद्यालयका विषयवस्तुमा छलफल गर्ने मौका पाएको बताउनुभयो ।
“बागमती शैक्षिक सुधार अभियान २०८२ घोषणा”
बागमती गाउँपालिकाको समग्र शैक्षिक सुधार तथा रणनीतिक योजना तयार गर्ने तथा कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष सर्केश घलानको संरक्षकत्वमा बागमती शैक्षिक सुधार अभियान २०८२ घोषणा गरिएको छ I अभियानको संयोजकमा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष कमान सिंह पाख्रिनलाई चयन गरिएको छ I
त्यस्तै सह-संयोजकमा शिक्षक महासंघ बाग्मतीका अध्यक्ष तथा जनता नमूना माविका प्रधानाध्यापक वसन्त राई, सह-शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समितिमा राजकुमार राई, परीक्षा तथा विषयगत समितिमा दिनेश माझी, पेशागत तालिम, उत्प्रेरणा तथा क्षमताविकास समितिमा प्रकाश चन्द, संघ संस्था समन्वय तथा स्रोत व्यवस्थापन समितिमा बीर बहादुर राई, शैक्षिक अनुसन्धान तथा नव प्रवर्तन समितिमा दिपक घिमिरे र समुदाय परिचालन तथा अभिभावक समन्वय समिति संयोजकमा बच्चु गोले खड्का चयन भएका छन् I समिति संयोजकको पहिलो बैठकले सल्लाहकार समिति सहित आफ्नो समितिलाई पूर्णता दिनुका साथै आगामी रणनीतिसमेत सार्वजनिक गर्ने गाउँपालिका शैक्षिक सुधार अभियानका संयोजक कमान सिंह पाख्रिनले बताएका छन् I
अभियान घोषणा लगत्तै सहभागी प्रधानाध्यापकसँग छलफल:
बागमती गाउँपालिका शैक्षिक सुधार अभियान २०८२ घोषणा लगत्तै नव गठित समितिका संयोजकले सहभागी विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक सुधारका अवसर तथा चुनौतिबारे अन्तरक्रिया गरेका छन् I विद्यालयका विद्यमान चुनौति के हुन् ? संवेदनशील समस्या के हुन् भन्ने विषयमा सहभागीसंग राय मागिएको थियो I
अधिकांश प्रधानाध्यापकले विद्यालयमा आर्थिक स्रोत नभएको, अभिभावकको सक्रीयता र अपनत्वमा कमी भएको, विद्यार्थीको अनियमितता बढी भएको, शैक्षिक सामाग्रीको अभाव, बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता भएको र विद्यार्थीको सिकाइ उपलब्धी कमजोर भएको समस्या प्रस्तुत गरेका थिए I
केही विद्यालयमा आमाबाबु विहीन ४० प्रतिशत भन्दा बढी बालबालिका भएको, अटिजम भएका बालबालिका हेर्न समस्या भएको विद्यालयमा कम्प्युटर/प्रिन्टरको अभाव भएको तथा ५ मुनिका विद्यालयमा नेपाल सरकारले आइसिटी मा बजेट विनियोजन नगरेको तर कक्षा ४ मा विज्ञान प्रविधि पढाउनु पर्ने बाध्यता भएको गुनासो समेत पोखेका थिए I
पूर्व प्राथमिक कक्षाको अवधी बढाउनु पर्ने सुझाव सहित सहभागीले शिक्षकलाई अत्याधुनिक प्रविधिको प्रयोगमा पोख्त बनाउने पर्ने, शिक्षकलाई उत्प्रेरित गर्नुपर्ने, विषयगत शिक्षकसहित दरबन्दी समायोजन गर्नुपर्ने जस्ता माग राखेका थिए I अंग्रेजी माध्यममा लैजान नसक्दा विद्यार्थी घटिरहेको चिन्ता गर्दै आधारभूत तहका विद्यालयलाई प्राथमिकताका साथ सुधार गर्नुपर्ने सहभागी प्रधानाध्यापकले सुझाएका थिए I
यही बैशाख मसान्तभित्र अर्को बैठक बसी कार्यशालामा भएका छलफल, प्रधानाध्यापकका सुझाव लगायतलाई ध्यानमा राखेर आगामी कार्यदिशा तथा रणनीति तय गरिने बागमती गाउँपालिकामा शैक्षिक सुधारको लागि लामो समय देखि लागिरहेका शिक्षा शाखामा कार्यरत प्रमोद राईले बताएका छन् I
तीन दिनसम्म संचालन भएको विद्यालय सुधार योजना तथा प्रधानाध्यापक नेतृत्व विकास सम्बन्धी कार्यशालाको सहजीकरण वृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले गरेका थिए I