हरिहरपुरगढीमा सन्चालित ३ दिने शिविरबाट हजार बढी बिरामी लाभान्वित


सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविरबाट एक हजारभन्दा बढी स्थानीयले लाभ लिएका छ्न ।
वैशाख २३ देखि २५ गतेसम्म सञ्चालित शिविरमा एक हजार तीन जनाले आँखा तथा दाँतको सेवा लिएको हो ।सेवा लिनेमा ५५६ जना आँखा र ४४७ जना दाँतका बिरामी र आखाका बिरामीमध्ये ६५ जनाको शल्यक्रिया गरिएको थियो ।

आँखामा मोतियाबिन्दु भएका उनीहरुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. दिवा हमाल लामिछाने नेतृत्वको टिमले शल्यक्रिया गरेको हो । यस क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १० वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।
जन्मेदेखि नै दुवै आँखा नदेखेका तथा एउटा आँखा कम देख्नाले दैनिकी नै असहज भएका बिरामीहरु शल्यक्रियापश्चात् राम्रोसँग आँखा देख्ने भएका छन ।

आर्थिक अभावका कारण विशेषज्ञ डाक्टर भएको अस्पतालसम्म पुग्न नसकी अँध्यारोमै जीवन बिताइराख्नुभएका बिरामीहरुले गाउँमै आँखाको शल्यक्रिया गर्न पाएपछि खुसी वृद्ध वृद्धामा खुशी छाएको छ।
हरिहरपुरगढी गाउँपालिकाले घरआँगनमा नै उपचार सेवा दिएर नयाँ जीवन दिएको भन्दै पालिका सरकारलाई आभार प्रकट गरे ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. लामिछानेले २०५४ सालबाट ग्रामीण बस्तीलगायत विकट क्षेत्रमा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नागरिकलाई सहज वातावरणमा सेवा प्रदान गर्न स्थानीय जनप्रनिधिले लिएको अग्रसरताको प्रशंसासमेत गर्नुभयो । शिविर व्यवस्थापन र बिरामीको सेवामा गाउँपालिका अध्यक्षसहितको टिमले गरेको काम उदाहरणीय भएको उहाँको भनाइ थियो ।

हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा दाँत तथा आँखाको संयुक्त शिविर आयोजना गरिएको हो ।
शिविरको उद्घाटन वैशाख २३ गते गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको थियो । उहाँले पालिकाबासीलाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य पुर्याउने अभियान अन्तर्गत निःशुल्क दाँत तथा आँखा शिविर आयोजना गरिएको बताउनुभयो । शिविरमा सहकार्य गरेका दुई संस्था ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका साथै शिविरमा खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवकलगायतलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमल कुमार राईले डाक्टरहरुलाई गाउँपालिकाको चिनो स्वरुप प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।