रौतहट १६ माघ/रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–५ मा रहेको मुनलाइट एकेडेमी माध्यमिक विद्यालयमा २२ औँ खेल सप्ताह सुरु भएको छ। शहीद दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमका बीच खेल सप्ताहको औपचारिक उद्घाटन गरिएको हो।खेल सप्ताहको उद्घाटन प्रमुख अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष निलहरी कोइराला र विद्यालयका विनोद घिमिरेले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय भावनालाई खेलकुदसँग जोडेर अघि बढ्ने सन्देश प्रवाह गरिएको थियो।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झा, नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष डिल्लीबहादुर कार्की, पूर्व शिक्षक जगतनारायण सिंह लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।उद्घाटन समारोहमा विद्यालयका विद्यार्थीहरूले शहीदहरूको योगदान र बलिदानको महत्व झल्काउने वक्तव्य प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रममा भावनात्मक र प्रेरणादायी वातावरण सिर्जना गरेको थियो।कार्यक्रममा बोल्दै वक्ताहरूले देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि शहीदहरूले दिएको बलिदानलाई सधैं स्मरण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
वक्ताहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पढाइसँगै खेललाई पनि समान महत्व दिनुपर्नेमा जोड दिएका थिए।
खेलकुदले अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धी भावना विकास गर्ने वक्ताहरूको भनाइ थियो।विद्यालयका अध्यक्ष विनोद घिमिरेले खेल सप्ताह केवल प्रतियोगिता मात्र नभई विद्यार्थीभित्रको प्रतिभा पहिचान गर्ने अवसर भएको बताउनुभयो। उहाँले विद्यालयले शिक्षा, खेलकुद र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयका एकेडेमिक डाइरेक्टर दीपक घिमिरेले गर्नुभएको थियो। खेल सप्ताहअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। शहीद दिवसको अवसरमा सुरु गरिएको उक्त खेल सप्ताहले विद्यार्थीहरूमा देशप्रेम र खेलभावनाको सन्देश प्रवाह गर्ने विश्वास विद्यालयले लिएको छ।




Comments