ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढीसम्म पदयात्रा आजबाट शुभारम्भ भएको छ। हरिहरपुरगढी गाउँपालिका–१ स्थित किल्लामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा प्रमुख अतिथि नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जिसीले पदयात्राको उद्घाटन गर्नुभयो।
मध्यपूर्वी पृतनाको आयोजनामा, श्री ९ नम्बर बाहिनीको संयोजन तथा गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, विभिन्न गणका गणपति, जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष सुवेदीलगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो।
करिब ७२ किलोमिटर दूरीको पदयात्रा पाँच दिनमा सम्पन्न हुने र यसमा नेपाली सेनाका २५० जना सहभागी रहेको छ। ऐतिहासिक गढी तथा किल्लाको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन उद्देश्यले आयोजना गरिएको पदयात्रामा सांस्कृतिक कार्यक्रम, स्थानीय भेषभूषा र बाजागाजासहित प्रस्तुति गरिएको छ।
यस अवसरमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ, जहाँ ओपिडी, आँखा, नाक, कान, घाँटी तथा बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। शिविरबाट स्थानीय ३०० जनाले सेवा लिएका छन्।
पृतनापति जिसीले पदयात्राले इतिहास जोड्ने र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने बताउँदै ऐतिहासिक गढी र किल्लाको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिका अध्यक्ष वाइबाले नेपाली सेनाप्रति आभार व्यक्त गर्दै हरिहरपुरगढी किल्लाको प्रवर्द्धनका लागि बजेट तथा कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको जानकारी दिनुभयो।




Comments