सिन्धुली । पेट्रोल छर्केर आगो लगाई हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ३२ वर्षीया सुशीला बञ्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको हो।
पुस ६ आईतबार गते करिब ४:३० बजे सुशीलालाई घरभित्रै पेट्रोल छर्केर आगो लगाइएको थियो। गम्भीर घाइते अवस्थामा रहेकी सुशीलालाई उपचारका लागि सिन्धुली अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा मृतककी सासु ५१ बर्षिय माया रानी बञ्जन र नन्द ३५ बर्षिय मीना लामा बञ्जन लाई पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा मीना लामा बञ्जनले सुशीलामाथि पेट्रोल छर्केर आगो लगाएको बयान दिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट पेट्रोलको बोतल, जलेको अवस्थामा रहेको बोतल तथा लाइटर बरामद गरिएको छ।
मृतकका बुबाले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएका थिए। उक्त घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।





Comments