हरिहरपुरगढी: – श्रावण महिना ‘डेंगी–सचेतना महिना राष्ट्रिय अभियान’को अवसरमा हरिहरपुरगढी गाउँपालिकाले पालिका स्तरीय सरसफाइ तथा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने विशेष कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो। कार्यक्रममा घर–घर पुगेर पानी जम्मा हुने स्थानको निरीक्षण, लामखुट्टेको लार्भा भेटिएका स्थानमा नष्ट गर्ने तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक सन्देशहरू प्रचार–प्रसार गरियो।

गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार डेंगी रोकथामको लागि स्वच्छ वातावरण, पानी जम्मा हुने भाँडाकुँडा र ट्यांकीको नियमित सफाइ, तथा लामखुट्टे जन्मन सक्ने स्थानहरू नष्ट गर्नु सबैभन्दा प्रभावकारी उपाय हो।

यस अवसरमा स्वास्थ्यकर्मीहरूले डेंगीका लक्षण, उपचार र रोकथामका तरिकाबारे स्थानीयलाई विस्तृत जानकारी दिँदै लार्भा नियन्त्रण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।



