सिन्धुली — रोजगारीका सिलसिलामा विगत चार वर्षदेखि युएई (दुबई) मा कार्यरत राजकुमार स्याङतानको शव आज स्वदेश ल्याइएको छ। कम्पनीमा कार्यरत रहँदा लडेर घटनास्थलमै मृत्यु भएपछि विभिन्न संघ–संस्था र नेपाली दूतावाससँग समन्वय गरी शव नेपाल ल्याइएको हो।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको पहलमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएर आफन्तको जिम्मा लगाइएको हो। अध्यक्ष वाइबा स्वयं विमानस्थल पुगेर शव बुझी पालिकाको एम्बुलेन्समार्फत हरिहरपुरगढी गाउँपालिका–४ स्थित स्व. स्याङतानको घरसम्म पुर्याउन सहयोग गरेका थिए।

यस अवसरमा गाउँपालिकाले आफन्तलाई घरसम्म आउन सवारीको व्यवस्था समेत गरेको थियो। गाउँपालिकाले स्व. स्याङतानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।



