Skip to content

हरिहरपुरगढीमा उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकामा आज एक विशेष कार्यक्रमका बीच उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरू र विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता र प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नं. १ का अध्यक्ष जित बहादुर थिङ, वडा नं. २ का अध्यक्ष विश्व राई, वडा नं. ८ का अध्यक्ष धनबहादुर मोक्तान तथा कार्यपालिका सदस्य मोहनकाजी बिकको उपस्थिति रहेको थियो।

गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट विद्यालयका रूपमा मावि महेन्द्रझ्याडीलाई कक्षा ८ देखि १० सम्मको लागि सम्मान गरेको थियो। त्यस्तै, जनप्रभात आधारभूत विद्यालय चैनपुरलाई कक्षा १ देखि ८ सम्म र मनकामना आधारभूत विद्यालय जखौलीलाई कक्षा १ देखि ५ सम्मको उत्कृष्ट विद्यालयका रूपमा चयन गर्दै जनही ३५ हजार रुपैयाँ, सम्मानपत्रसहित सम्मान गरिएको हो।

विद्यार्थी सम्मानको सन्दर्भमा शैक्षिक सत्र २०८० मा कक्षा ८ बाट उत्कृष्ट अंक हासिल गर्ने छात्रतर्फ मावि महेन्द्रझ्याडीका संजय कुमार लोप्चन र छात्रातर्फ मंगलीमाया स्याङ्तानलाई सम्मान गरिएको थियो। माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने तिनकुना भानुभक्त माविका छात्र सुरज नेपाली र छात्रा ईश्वरी गोले तथा कक्षा १२ मा उत्कृष्ट प्रदर्शन गर्ने छात्रा धनमाया माझी र मावि महेन्द्रझ्याडीका छात्र मनराज थिङलाई पनि जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

त्यस्तै, शैक्षिक सत्र २०८१ मा कक्षा ८ बाट उत्कृष्ट प्रदर्शन गर्ने क्यानेश्वर मावि पान्तलेका आशिष मोक्तान र जनहित मावि बोटेनीकी छात्रा निशा भोलनलाई तथा एसईई मा उत्कृष्ट अंक प्राप्त गर्ने मावि महेन्द्रझ्याडीका छात्र सोमित राई र छात्रा सितामाया बललाई समेत प्रमाणपत्र, दोसल्ला र नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले राष्ट्रको निम्ति आवश्यक ज्ञान आर्जन गर्दै सकारात्मक योगदान पुर्‍याउने सोचका साथ विद्यार्थीहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “मेरो सफलताभित्र राष्ट्रको सफलता हुन्छ। राष्ट्रका लागि आवश्यक ज्ञान आर्जन गर्न सक्नुपर्छ र व्यवहारमा उतार्न सक्नुपर्छ।”

उहाँले आजको प्रविधिको युगमा फेसबुकमा समय खर्च गर्नुको सट्टा व्यवहारिक ज्ञान आर्जनमा ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। “सिक्दै जानुहोस् र सिकाउँदै पनि जानुहोस्,” उहाँले भन्नुभयो, “ज्ञान केवल किताबमा सीमित नहोस्, व्यवहारबाट प्रमाणित होस्।”

गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले आफू निर्वाचित भएपछि शिक्षालाई प्राथमिकता दिँदै विद्यालय र विद्यार्थीको समग्र विकासका लागि निरन्तर प्रयासरत रहेको बताउनुभयो। “हामीले स्रोतसाधनको भरपुर उपयोग गर्दै शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छौं,” उहाँले भन्नुभयो।

त्यस्तै, उपाध्यक्ष चेख बहादुर थिङले संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउन तीनवटै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts