मकवानपुर, २०८२ जेठ – मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न १५ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड कप प्रतियोगितामा पुरस्कृत भएका र प्रदेश स्तरीय खेलमा छनोट हुन सफल बागमती गाउँपालिका अन्तर्गतका विद्यालयका खेलाडी विद्यार्थीहरूलाई बागमती गाउँपालिकाले सम्मान गरेको छ।
सो कार्यक्रम बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिको रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, विशेष अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती गाउँपालिका सामाजिक विकास संयोजक कमान सिं पाख्रीन र वडा नं. ७ का अध्यक्ष उत्तर बहादुर भोलन उपस्थित थिए।

कार्यक्रममा सम्मानित खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरी खेलप्रति उनीहरूको उत्साह र समर्पणलाई सम्मान गरिएको थियो। अध्यक्ष रहर सिं थिङले खेलकुद मार्फत युवाहरूमा अनुशासन, परिश्रम र एकता बढाउने महत्वपूर्ण पक्षमा जोड दिए।
अध्यक्ष घलानले भने, “खेलकुदले मात्र स्वस्थ शरीर होइन, स्वस्थ समाज पनि निर्माण गर्छ। गाउँपालिकाले खेलकुद विकासका लागि सदैव सहयोग गर्दै जानेछ।”
कार्यक्रमले स्थानीय स्तरमा खेलकुदलाई प्रवद्र्धन गर्ने र विद्यार्थीहरूमा खेलप्रति उत्साह जगाउने ठूलो भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरिएको छ।



