सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ मा आयोजित ‘एकीकृत घुम्ती शिविर’मार्फत यहाँका ५ सय ७४ जना स्थानीयबासीलाई विभिन्न सेवा प्रदान गरिएको छ ।
शिविरमा वडा नम्बर २ का वडा अध्यक्ष विश्व राई , गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीको उपस्थिती रहेको थियो ।

शिविरमा १९७ जनालाई सामाजिक सुरक्षा भत्ता, ६ जनालाई अपाङ्गता परिचयपत्र, २६ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र यसैगरी ८७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै २५८ वटा पशुकोसमेत उपचार गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।

भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।



