हुर्रिँदै हरिहरपुरगढी:लीलाराज दाहाल





लीलाराज दाहाल,वागमती ११, कर्मैया, सर्लाही
बिहानैको रापिलो घाम ! २०८१ साल चैत्र १७ गते आइतबारको दिन बिहानै चाउवेन बुढाथोकी र मोतीलाल बोट वार्तालापमा ब्यस्त थिए ! वार्ताको बिषय थियो घुम्न जाने स्थानको छनौट ! हामी सर्लाही जिल्लाको उत्तर पश्चिमी नगरपालिका वागमतीका बासिन्दा ! हाम्रो गाउँदेखि सिधा उत्तरमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका पर्छ ! त्यही गाउँपालिकाको कुनै स्थानमा यात्रा गर्न उनीहरु सल्लाह गर्दैथिए !
म केही बर्षदेखि जागिरको सिलसिलामा काठमाडौंमा रहे पनि अहिले घर आएको थिएँ ! यदाकदा म पनि यात्रा गर्न रौसिने स्वभावकै मान्छे भएकोले उनीहरूले मलाई पनि स्वागत गरेर आफ्नो समूहमा मिसाए !
मोतीलाल मोटरसाइकल लिएर मलाई लिन मेरो घर आइपुग्दा घडीले बिहानको आठ बजाइसकेको थियोे ! मोतीको मोटरसाइकलमा म चढें भने कृष्ण रखाल मगरको मोटरसाइकलमा चाउवेन बुढाथोकी चढेपछि हाम्रो यात्राले गति लियो ! भीमसेन थापाको मोटरसाइकलको पछाडिको सिट भने खाली नै रह्यो !
वागमती नगरपालिकाको वडा नम्बर ११ स्थित हरिहर क्षेत्र, तपोवन, झप्सी हुँदै हामी उकालो लाग्यौं ! रुखबाट खसेका, सुकेका पातपतिङ्गर बाटाभरि छरिएका छन् ! बाटो छेउका रुख बिरुवाका झर्न बाँकी पातहरु धुलाम्मे देखिएका छन् ! चैतको समय भएकोले घामको राप निकै बढेको छ ! हामी मोटरसाइकलमा सवार भएका कारण हामीलाई जङ्गलको बतासले स्पर्श गरिरहेकोले त्यस्तो असह्य अवस्था भैसकेको थिएन ! बाटो धुलाम्मे छ ! यस्तो खुरिखण्डी मौसममा पनि यात्रा गर्ने हाम्रो साहस अदम्य थियोे ! केही कठिनाइ भए पनि सबैको अनुहारमा खुसीको लहर सलबलाइरहेको थियो ! हाम्रो टोली नेता चाउवेन बुढाथोकीको उर्दीलाई शिरोधार्य गरी बाटोको धुलो उडाउँदै हाम्रा मोटरसाइकलहरु उत्तराभिमुख हुँदै गुडिरहेका थिए !
जङ्गलमा कतै पनि उस्तो हरियाली छैन ! पतझड वनको उदास अनुहार नियाल्दै हामी अगाडि बढिरह्यौं ! वागमती नदीको किनारै किनार निर्माणाधीन वागमती – पिपलमाढी धुले सडकमा हाम्रो यात्रा चालु थियो ! भिमाद दोभान र मोरङ्गे पनि कटिसकेका थिए ! बाटोमा कतै ग्राभेल गर्ने त कतै ढुङ्गाको गाह्रो लगाउने काम भैरहेको थियोे ! ठाउँ ठाउँमा सडक मजदुरहरु आआफ्ना काममा ब्यस्त देखिए !
” यो बाटो पिच हुने हो भने सर्लाहीको वागमती नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा बिशेष लाभान्वित हुने थिए ! ” चाउवेन बुढाथोकीले भनेको यस वाक्य सुनेपछि मैले पनि मनमनै यस बाटोबाट हुने फाइदाको लेखाजोखा गरें !
” यो बाटो राम्रोसँग बन्यो भने हामी वागमतीका मानिसलाई हेटौंडा जाँदा पथलैया र सिन्धुलीमाढी जाँदा बर्दिबास पुग्नैपर्ने वाध्यता हट्ने छ ! ” स्थानीय भीमसेन थापाले पनि आफ्नो मनमा खेलिरहेको कुरालाई शव्दमा उतारे !
हामी क्यानेश्वर पुलमा पुग्ने पुग्ने बेला बाटो दुईतिर फाट्टियो ! हामी दाहिनेतिरको बाटो समातेर अगाडि बढ्यौं ! यता आएपछि अपेक्षाकृतरुपमा अलि राम्रो बाटो भेटियो ! ढलान गरेको हुँदा बाटो अलि सजिलो थियोे ! उकालो पनि होइन ओरालो पनि होइन, अलि तेर्सो तेर्सो हुँदै बाटो पूर्वतिर लाग्यो !
बाटोको दायाँबायाँ जङ्गल रहेकाले मानवबस्ती नभएको जस्तो एकान्त ठाउँ रहेछ यो ! केहीबेरको मोटरसाइकल यात्रापछि हामी राँगे दोभान आइपुग्यौं ! अव भने फाट्टफुट्ट घरहरु देखिन थाले ! बाटोमाथिका बारी बाँझै देखिए पनि बाटोमुनिका बारीमा मकैका रहरलाग्दा बिरुवाहरु थिए ! मकैको बोटको हरियालीले हाम्रो मन पनि खुसीले हरियो भयो !
यो यहाँको सानो सानो गाउँ रहेछ ! काठका फलेकले घेराबेरा गरी टिनले छाएका चिटिक्क परेका घरहरु छन् ! धेरै जसो भुईंघर र कतै कतै टाँड हालेका रहरलाग्दा वातानुकुलित घरहरु देख्दा मेरो पनि मन हर्षित भएको थियोे ! हरिहरपुरगढी गाउँपालिकाको ६ नम्बर वडामा पर्ने यस गाउँमा यसअघि म आइपुगेको थिइनँ ! हुन त मेरो घरबाट बढीमा आठ नौ किलोमिटरको दूरीमा होला यो गाउँ ! तर पनि यता आउने संयोग कहिल्यै परेको थिएन ! एउटा सानो पक्की घरमा वडा कार्यालय रहेको देखियो !
प्रयोग हुने गरेको नभए पनि देखाउनैको लागि सार्वजनिक शौचालय बनाएको देख्दा भने मेरो मन खिन्न भयोे ! शौचालय हुनुपर्छ भन्ने शासकीय चेतना भने यता पनि आइपुगेको रहेछ ! यस कुराले भने मनमा सन्तोषको लहर उठ्यो ! अधिकांश घरहरु तामाङका ! यो क्षेत्र तामाङ बाहुल्य क्षेत्र हो ! रहनसहन, संस्कृति र धार्मिक आस्थामा समानता रहेछ यहाँ ! पेशामा पनि समानता रहेछ यतातिर !
हाम्रो गाउँतिर जस्तो मिश्रित समाज देखिएन ! प्रायः खसी, बाख्रा र कुखुरा पालिएका घरहरु देखिए ! कृषि र पशुपालन यताको प्रमुख पेशा नै हो ! अन्न बालीका अतिरिक्त घरैपिच्छे जस्तो आँप, कटहर र लिचीका बोटहरु छन् ! तिनमा लटरम्म फूल फुलेका छन् अहिले !
” यताको जमिनमा खेतीपाती पनि राम्रै हुन्छ ! बाहिरका मानिस आएर यहाँ बसेदेखि यताको पनि विकास हुने थियोे ! ” बाटामा भेटिएका स्थानीय देवबहादुर बोम्जनले भने !
” कसरी पाइन्छ नि एता जग्गा ? ” मैले सोध्न त सोधेँ तर कसैबाट पनि भरपर्दो जवाफ आएन !
मोतीको चिनजानका स्थानीय गोले दाइको घरमा केहीबेर सुस्तायौं ! यस घरमा सानो-सानो किराना पसल पनि रहेछ ! तामाङ संस्कृति जनाउने ध्वजाहरु हल्लिरहेका थिए घर र आँगन वरिपरि ! तामाङ जातिका मानिसमा हुने सरल र मेहेनती स्वभावले हामीलाई प्रभाव पारिरहेको थियोे ! त्यसो त हाम्रै गाउँ टोलमा पनि तामाङ जातिको बसोबास छ ! सांस्कृतिक विविधता हाम्रो देशको प्रमुख बिशेषता हो र बिकासको आधार पनि हो ! हामी यहाँ आइपुग्नासाथ गिलास भरीभरी चिसो पेयपदार्थ दिएर हाम्रो स्वागत गरियोे ! अव त घरमा आउने आगन्तुकलाई चियाको सट्टा चिसो पेयले स्वागत गर्ने संस्कार बिकसित भैरहेको छ जताततै ! बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीकोलाको अधीनमा छन् पहाडी गाउँ अचेल ! पाहुना लाग्न जाँदा पनि सजिलो भएको छ कोसेली लानलाई ! एउटा हरियो बोतल बोक्यो, कोसेली भैहाल्यो ! जनजाति बस्तीमा यो नयाँ संस्कारले गहिरो प्रभाव पारिरहेको छ अचेल !
यहाँबाट पनि हामी अगाडि बढ्यौं र वैद्य टोल पुग्यौं ! हाम्रा मोटरसाइकल स्थानीय मकरबहादुर बम्जनको घरको आँगनमा पुगेर मात्रै अडिए ! त्यहाँ केहीबेर रहँदा यताको आर्थिक, सामाजिक र राजनीतिक विकासको अवस्था बारेमा खोजीनीति गर्यौं ! माओवादीले चलाएको जनयुद्धका कारण यहाँका मानिसहरुको वैचारिक चेतनाको स्तर निकै माथि उठेको पाइयो ! खेतीपाती र पशुपालनबाट घरैपिच्छे राम्रो आयस्ता हुने गरेको रहेछ ! घरैपिच्छे जस्तो सोलार जोडेर घरलाई उज्यालो पारेको देखियो ! सरकारी आँकडाले गरिबीको अबस्था जस्तो देखाए पनि गाउँघरमा अहिले मानिसको जीवनस्तर माथि उठेको पाइन्छ ! घरका एकजना भए पनि बिदेश गएको कारण पनि जनताको आर्थिक अवस्था सुधारोन्मुख रहेको छ अचेल !
दिनको बाह्र बजेतिर लोकल कुखुराको मासु र कोदाको ढिंडो तयार भयो ! त्यो सँगसँगै कसैले कोदाकै झोल उदरस्थ गरेपछि उनीहरूको अनुहारमा तृप्तीको दियो बल्न थाल्यो ! सहयात्री साथीहरू खुसी भएपछि म पनि खुसी नहुने कुरै भएन ! अलिअलि खुसी मेरो भागमा पनि आइलाग्यो ! खानपिनपछि हामी केहीबेर सुस्तायौं !
” खाएपछि सुत्ने बानी छ मेरो, म ओछ्यानमा ढल्कें है एकछिन ! ” चाउवेन दाइ ओछ्यानमा पल्टेपछि मैले जिस्क्याएँ,” दाजु, तपाईं आनन्दले सुत्नुहोस् ! हामी तपाईंलाई रुँगेर बस्छौं वरिपरि ! “
हाँसोको आँधीले दाइलाई सुत्न दिएन ! उनी हाँस्दै उठेर बसेपछि फेरि केहीबेर गफिन थाल्यौं ! अनि खानेकुराको मूल्य दामासाहीले भुक्तानी गरेर हामी त्यहाँबाट फर्कियौं र थरक मार्न भनेर क्यानेश्वर खोलाको पुलमा एकछिन उभियौं ! त्यहाँबाट कतै धुलौटे र कतै समतल ग्राभेल बाटो पार गरेर हामी मरिनखोलाको किनार बफ्खर पुग्यौं !
झोलुङ्गे पुलबाट मरिनखोला तरेपछि भने बल्ल हेटौंडा – सिन्धुली – चतरा – धरान जोड्ने मदन भण्डारी लोकमार्ग भेटियो ! हामी पश्चिमतर्फ मोडिएर श्रीपुरमा केहीबेर रोकियौं ! बाटोभरि सित्तैंमा उपहार पाएको धुलोलाई मिचिमिचि हातमुख धोएर बिदा गर्यौं ! त्यहाँ इच्छा अनुसार चिसो पानी पिएपछि मेरो शरीरको थकान पनि गायव भयो ! त्यहाँबाट पश्चिमतिर अगाडि बढेर झनझने, चैनपुर, रतनपुर, हरिहरपुर, साँढे हुँदै गुर्जी पुगेर पिच सडक छोडी हरिहरपुरगढीको लागि दाहिनेतिरको उकालो लाग्यौं !
मुल सडक छोडेपछि फेरि धुले बाटो हामीलाई अङ्कमाल गर्न आइहाल्यो ! बाटोमा घुम्ती र उकालोले रोमाञ्चकता थपिरहेका थिए ! गढी यात्राको मज्जा लिइरहेका थियौं ! बाटो छेउछाउ र केही परसम्म देखिएका बेलका वृक्षहरुले पाखाको शोभा बढाएका छन् ! वृक्षमै पाकिसकेका बेल देखेर मेरो मन एक्कासि अतितमा पुगेर हरायो ! गर्मी याम शुरु भएपछि पाकेको बेल खाने गरिन्थ्यो घरमा र बेलको सर्वत पनि ! जङ्गल गएर आफैंले सङ्कलन गरेर ल्याएको बेलको सर्वतको स्वाद अझै मेरो जिब्रोमा झुण्डिरहेकै छ ! यस्तो मजा शहरमा कहाँ पाउनु ! म त बेलको स्मृतिमा पुरानो कुरा सम्झँदै टोलाउन थालेंछु ! बाटोको घुम्तीमा बाइकले हल्लाउँदा पो झल्यास्स भएँ !
हाम्रो मन त्यसै त्यसै रमाइरहेको थियोे ! आधा बाटोमा पुगेपछि एक्कासि आगोको राप र धुवाँले मेरो आँखा पिरो भयो ! जङ्गलमा डँढेलो लागेकोले हाम्रा मोटरसाइकल केहीबेर रोकिए ! अझ माथि माथि डँढेलोको शासन निकै कडा हुँदै गइरहेको थियोे ! पहिले पहिले हाम्रो घरदेखि परको जङ्गलमा डँढेलो लाग्दा सबै गाउँले मिलेर आगो निभाउन गएको दृश्य झलझली आँखामा नाच्न थाल्यो ! यहाँ भने भिरालो र अप्ठ्यारो ठाउँमा डँढेलो लागेकाले आगो निभाउन जान हामीलाई कसैगरी पनि आँट आइरहेको थिएन !
” यस्तो डँढेलोमा परेर कति वन्यजन्तुको ज्यान जाने, धुवाँले गर्दा पर्यावरण बिग्रेर वायुमण्डल प्रदुषित हुने कारण सरकार र जनताले मिलेर डँढेलो नियन्त्रण गर्नुपर्नेमा यस्तो हुन नसक्नुमा सरकारको उदासीनता र जनतामा जनचेतनाको कमी हुनु पनि हो ! ” मनमा कुरा मात्रै खेलिरह्यो ! आगो निभाउने काम भने केही पनि गर्न सकिएन !
जङ्गलको बिचबाट गएको, कतै ढुङ्गा छापेको, कतै धुले र कतै चट्टानी बाटोबाट आठ किलोमिटर उकालो बाटो गुडेपछि हामी हरिहरपुरगढीको मुल गेटमा पुग्यौं ! भग्नावशेषको रुपमा रहेको यश गढीको मकवानपुरगढीसँग धेरै कुरामा समानता रहेको देखिन्छ !
यस हरिहरपुरगढीको रणनीतिक महत्व र पृथ्वीनारायण शाहको युद्ध कौशलका बारेमा भीमसेन थापाबाट केही कुराको सामान्य जानकारी लियौं ! अङ्ग्रेज सेनासँग लड्न दक्षिणतिर मजबुत बनाइएको यो गढी ! बडेबडे ढुङ्गा जोडेर लगाइएको बलियो पर्खाल ! मुल पर्खाल बाहिरपट्टिको होचो भागमा गोर्खाली सेनालाई तैनाथ राख्ने स्थान ! दक्षिणतिरबाट उकालो चढ्दै युद्धको लागि जाइलाग्ने अङ्ग्रेजी सेनाको गतिविधि नियाल्न पर्खालमा बनाइएका ससाना खटप्वाल ! गढीभित्रै बसेर गोर्खाली सैन्य नेतृत्वले अङ्ग्रेजलाई नियाल्न सक्नेगरी पर्खाल लगाएको देख्दा गोर्खाली सेनाको युद्ध कौशल उच्च कोटीको थियोे भन्न सकिन्छ ! गढीभित्र परेको पानी सोहोरिएर बाहिर पुग्ने व्यवस्था गरिएको, दुश्मनले हत्पति आक्रमण गर्न नसकोस् भनी गढीको बाहिरपट्टि अग्ला अग्ला पर्खालको बिचमा गहिरो भाग बनाएको अझै देख्न सकिन्छ ! यस्तो व्यवहारिक र वैज्ञानिक किसिमको हरिहरपुरगढीको किल्ला अवलोकन गर्दा मात्रै पनि गर्वले हाम्रो छाती चौडा भएको थियोे !

पाल्पा राज्यबाट टुक्रेर बि.स. १६२२ मा बनेको मकवानपुर राज्य अन्तर्गत पर्दथ्यो पहिले यो क्षेत्र ! मकवानपुरका राजा हरिहर इन्द्र सेनले यो किल्ला ( दरबार ) बनाउन लगाएका र यसको नाम हरिहरपुरगढी रहन गएको भन्ने ऐतिहासिक किम्वदन्ती रहेको पाइन्छ ! यसलाई उनलेे गृष्मकालीन दरबारको रुपमा प्रयोग गर्ने गरेको कुरा पनि इतिहासमा उल्लेख भएको पाइन्छ ! कतै मुसलमान फौजको आक्रमणबाट बच्न सिमरौनगढका राजा हरिसिंहदेव भागेर आउँदा यस स्थानमा आइपुगेपछि यो किल्ला बनाएर बसेको र यसको नाम हरिहरपुरगढी रहेको भन्ने पनि कतिपय इतिहासकारहरुको मत रहिआएको पाइन्छ ! पछि पृथ्वीनारायण शाह मकवानपुरगढीमा बिजयी भैसकेपछि त्यहाँका दिग्बन्धन सेन ज्यान बचाउन भागेर यहाँ आई करीब चार महिना लुकेर बसेका र पछि यो गढी पनि पृथ्वीनारायण शाहद्वारा एकिकृत बिशाल नेपालमा समाहित भएको हो !
पछि सानासाना राज्यका रुपमा रहेका कमजोर राज्यहरुमा आक्रमण गर्दै आएका अङ्ग्रेज फौज सिन्धुलीगढीको युद्धमा परास्त भएपछि यस क्षेत्रबाट काठमाडौं प्रवेश गर्ने प्रयास गरेका र यस हरिहरपुरगढीमा तैनाथ गोर्खाली फौजले ती अङ्ग्रेजहरुलाई परास्त गरी नेपालको अस्मिता जोगाएको कुरा पनि प्रामाणिक रुपमा इतिहासमा उल्लेख भएको छ !
म यहाँ रहेका कला कौशल र भग्नावशेषहरुको अवलोकन गर्दै थिएँ ! गढीमा फर्फराइरहेको नेपालको झण्डा नजिक पुगेर चाउवेन दाइ गाउन थाले,” रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो …”
अहिले यश गढीका केही पर्खालहरु भत्किएका, ढोकाका काठ सडेका र पर्खालमा कतैकतै लेऊ लागेको पनि देखियो ! चारैतिरबाट गढीको सुक्ष्म अवलोकन गरिसकेपछि भने हाम्रो मन फोटो खिच्नतर्फ लालायित भयो र मन तृप्त नहुञ्जेल लगातार फोटो खिच्ने काम भैरह्यो !
गुर्जीदेखि हरिहरपुरगढीसम्मको करीब आठ किलोमिटर जति ग्राभेल बाटोको स्तरोन्नतिको काम शुरु भएको देखिए पनि असहज सडकका कारण ऐतिहासिक महत्त्व बोकेको यो गढीमा मानिसहरुको बाक्लो आवागमन भएको भने देखिएन ! चारैतिरबाट जङ्गलले घेरेको, अग्लो डाँडामा रहेको र यहाँबाट वागमती नदी र तराईको फाँट देखिने कारणले यसको प्राकृतिक शुन्दरता अतुलनीय रहेको छ तर पनि यो क्षेत्र पुरातात्त्विक संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको छ ! हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा पर्ने यस गढीको शुन्दरतालाई जोगाइराख्न र पर्यावरणीय सुरक्षाका लागि पनि स्थानीय सरकारले सरसफाइमा बिशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ ! पेय पदार्थ र पानीका बोतल तथा चाउचाउ र बिस्कुटका खोलहरु चौरमा यत्रतत्र फालिएको दृश्यले भने मन खिन्न हुन पुग्यो ! अग्लो डाँडामा रहेका कारण पिउने पानी र खाजा खाने होटलको साह्रै जरुरी रहेको महसुस हुन्छ जो कोहीलाई पनि ! गढी, दरबार र किल्ला जस्ता ऐतिहासिक, पुरातात्त्विक सम्पदाहरुको संरक्षण र विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान गएमा यस पालिकाको मात्रै होइन पुरा देशको लागि यो क्षेत्रले पर्यटनको विकासमा योगदान गर्न सक्छ र स्थानीय पालिकाको लागि यो गढी क्षेत्र पनि आम्दानीको राम्रो श्रोत पनि हुन सक्छ !
” यस गढीलाई सरकारले ऐतिहासिक पर्यटकीय महत्त्वको स्थानका रुपमा घोषणा गरी यहाँको पुर्वाधार विकासलाई प्राथमिकता दिने हो भने यो गढी पनि पर्यटकहरुको नजरमा पर्नेछ ! नेपालका अन्य गढीहरुभन्दा यो महत्त्वपूर्ण छ प्राकृतिक शुन्दरताको दृष्टिकोणले ! सिन्धुलीगढीदेखि हरिहरपुरगढीसम्म ऐतिहासिक पदमार्गको विकास र विस्तार गर्ने हो भने सिन्धुली जिल्लाको यो भाग पर्यटनको हव बन्नेछ ! ” मैले मनमनै निकालेको यस निचोडलाई चाउवेन दाइ लगायत सबैको ओठमा सलबलाइरहेको मुस्कानले समर्थन गरेको थियोे !
बेलुकाको चार बजेका कारण हामी अरु बढी अलमलिएनौं ! हेर्न त अझै धेरै मन थियोे ! हरिहरपुरगढीको छातीमाथि उच्च गर्वका साथ अझै धेरैबेर बस्न मन थियोे ! गढी दरबारको मुल ढोकामा कुँदिएको शिलालेखका अक्षर अक्षर पर्गेलेर अझै धेरै ऐतिहासिक तथ्य सङ्कलन गर्नु थियोे र आर्जन गर्नु थियोे धेरै ज्ञान ! अक्षर मेटिएजस्तो भएकोले छोटोे समयमा हाम्रा सामान्य आँखाले केही पढ्न सके, केही पढ्न सकेनन् ! समय छिटोछिटो घर्किरहेको र हामीलाई घरतिर फर्काउन जोडबल गरिरहेको थियोे ! समयलाई रोकेर राखिराख्ने सामर्थ्य पनि त हामीसँग थिएन !
मनमा हरिहरपुरगढीको ऐतिहासिकता र पुरातात्त्विक अवशेषको स्वरुपलाई सजाउँदै हामी पुनः ओरालो झर्न थाल्यौं ! शरीर थाकेको भए पनि हाम्रो मनको बगैंचामा भने खुसीको फूल फुलेको थियोे !