प्रधानमन्त्री ओली र भारतीय राजदूत बीच भेटघाट





काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेका छन् । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरुप उक्त आतंकवादी हमलाको भर्त्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पहलगाम आतंकवादी आक्रमणपछि मंगलबार राति भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेको थियो । त्यसपछि पाकिस्तानका तर्फबाट पनि भारतका सीमावर्ती क्षेत्रमा आक्रमण भएको छ । तीन दिनयता भारत र पाकिस्तानबीच झडपका घटनाहरू भइरहेका छन् ।
