सिन्धुलिको हरिहरपुरगढीमा एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिहरपुरगढीको सेवा प्रवेशी शिक्षक स्वागत,सम्मान तथा पुर्ण बैठक सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन )को प्रमुख आतिथ्यता, हरिहपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य (लेखनाथ) दाहाल राजनले विज्ञार प्रविधिसँग जोडिएको ज्ञान र सिप अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । अहिले ज्ञान लाई जसरी पनि विज्ञानसँग जोड्नु पर्ने परिस्थिती सिर्जना भएको बताउनुभयो ।
सिक्ने र सिकाउने निरन्तर अभ्यास नै शिक्षक हो भन्नुहुँदै उहाँले अरु कुनै पेशालाई एकपटक सिकेपछि पुग्न सक्छ तर शिक्षकले प्रत्येक दिन नयाँ कुरा सिक्नै पर्ने बताउनुभयो । उहाँले सिकेर गए मात्रै सिकाउन सक्ने भएकोले प्रत्येक दिन शिक्षक बन्नु भन्दा पहिले विद्यार्थी बन्न आवश्यक रहेको धारणा राख्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर रहेको बताउनुभयो । शैक्षिक गुणस्तरको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।
संगठनका अध्यक्ष वकिल भोलनको अध्यक्षतामा भएको कार्यक्रममा अन्य शिक्षक संगठन परित्याग गरी प्रवेश गरेका तथा सेवा प्रवेशी ४५ जना शिक्षकलाई एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिहरपुरगढीमा स्वागत गरिएको छ ।



