हरिहरपुरगढीको क्वाटरमा आजबाट २ महिने सिलाई वुनाई तालिम सुरु


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्वाटरमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिम सुरु भएको छ। आज तालिमको उद्घाटन पालिका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो ।
बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय र हरिहरपुरगढी गाउँपालिकाको साझेदारीमा आजबाट गृहिणी महिलाहरु लक्षित २ महिने तालिम सुरु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तालिमबाट घरमै चुलोचौका,पानीपधेँरो,घाँसदाउरामै सिमित भएका गृहिणी महिलाहरुको लागि सिप सिकेर आत्मनिर्भर भई आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सधैँ श्रीमान अथवा परिवारमै निर्भर रहँदा महिला हिंसाको घटना घट्ने गरेको बताउनुहुँदै उहाँले महिलाहरुको माग अनुरुपको तालिम दिनको लागि गाउँपालिका तयार रहेको बताउनुभयो । क्रियाशिल भएर सिप सिक्नको लागि उहाँले आग्रह गर्नुभयो ।
वडा नम्वर ७ का वडा अध्यक्ष बिच बहादुर मोक्तानको अध्यक्षतामा तालिम उद्घाटन भएको थियो । तालिममा सोहि स्थानका २२ जना गृहिणी महिलाहरुको सहभागिता रहनेछ । गाउँपालिकाले तालिमको लागि १० वटा सिलाई वुनाईको मेसिन उपलब्ध गराएको छ ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तान, प्रशासनीक इकाई प्रमुख लक्ष्मीश्वरी तुइतुई,वडा नम्बर ७ र ८ का निवर्तमान वडा अध्यक्ष,वडा सचिव लगायतको उपस्थिती रहेको थियो ।