देवास राई भाषाको पढाइ प्रवाह सम्बन्धी तीन दिवसीय शिक्षक तालिम सम्पन्न


सिन्धुली: किरात देवास राईको भाषा प्रवाह सम्बन्धी तीन दिवसीय शिक्षक तालिम आज सम्पन्न भएको छ। किरात देवास राई उत्थान समाज केन्द्रीय समितिको आयोजना तथा हिमाली आदिवासी समाज नेपालको सहयोगमा देवास राई भाषा पढाइ प्रवाह परियोजना अन्तर्गतको शिक्षक तालिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को गुर्जी अवस्थित हायात होटलमा गत शुक्रबार देखि सुरु भएको भएको सो कार्यक्रम आज आइतवार सम्पन्न भएको हो।

कार्यक्रमको समापन सत्रका प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले लामो संघर्षपछी प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पहिचान सहितको सङ्घीयताको परिकल्पना गरिएको र कार्यान्वयन गर्ने प्रयास भएता पनि सोचे अनुरुप अझै हुन नसकेको बताउनुभयो। उहाँले पहिचान सहितको प्रदेशको नामकरण र प्रणाली बमोजिम राज्य व्यवस्था सञ्चालनमा आएको भए सबै जनजातिहरुको हक अधिकारको सुनिश्चितता सँगै पहुँच योग्य हुने र यसबाट सबै जातजातिको संरक्षण, संवर्द्धन तथा विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो। जातजातिको पहिचानको मुद्दा बुलन्द रुपमा उठाए पनि राज्यले बेवास्ता गरेको र हामीले आफ्नो पहिचानको लागि आफै डटेर सामना गर्नुपरिरहेको उहाँको भनाई छ। उहाँले आफनो पहिचानको लागि आफ्नो भाषा, कला, संस्कार संस्कृति जगेर्ना गर्नु पर्ने र यसको संरक्षण, संवर्द्धन तथा विकासको लागि आफ्ना समुदायको शैक्षिक स्तरलाई सुधार गर्नु पर्नेमा जोड दिनुभयो । आफ्नो सम्पदालाई जगेर्ना गर्न विद्यालयस्तरमा पठनपाठन हुनुपर्ने सुझाव दिनुभयो । बागमती गाउँपालिकाका जनजातिहरुको भाषा, संस्कार संस्कृतिको संरक्षण र विकासका लागि स्थानीय सरकारले सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि थप सहयोग गर्ने उहाँले प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो।

बागमती गाउँपालिका उपाध्यक्ष एवम् कार्यक्रमा विशिष्ठ अतिथि फणिन्द्र कुमार तिमल्सिनाले किरात देवास राई भाषा संरक्षण र विकासमा यस कार्यक्रमले सहयोग गर्ने विश्वास गर्दै सफलताको कामना गर्नुभयो।
कार्यक्रमका अतिथि बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नेपालको संविधानको धारा ३२ मा आफ्नो कला, संस्कार, संस्कृतिको जगेर्ना गर्न पाउने मौलिक हकको व्यवस्था रहेको इंगित गर्नु हुँदै देवास राई समुदायले पनि आफ्नो भाषा तथा संस्कृतिको संरक्षण तथा विकासमा लागिरहेकोमा सफलताको लागि शुभेक्षा प्रकट गर्नुभयो। उहाँले भन्नुभयो `कुनै मानव वा जातजातिको सभ्यताता एवम् अस्तित्व समाप्त पार्नु छ भने उसको भाषा र संस्कार संस्कृतिमा प्रहार गरे पुग्छ। यदाकदा हाम्रो पनि जातिको अस्तित्व नामेट गर्न यस्तो कहिँ कतैबाट हुनसक्छ।तर हाल यस कार्यमा हामीबाटै पनि भइरहेको हुनसक्छ।´ हाम्रो समुदायमा आफ्नो भाषा, संस्कार भन्दा अरुको आयातित संस्कारलाई अंगाल्न खोजिरहेका छौं। यसबाट हाम्रो पहिचान हामी आफैबाट स्खलन भइरहेको र यस्ता कार्यमा सचेत हुन ध्यानाकर्षण गराउनुभयो। वर्तमान प्ररिप्रेक्षालाई नजर अन्दाज गर्दा यदि केन्द्र, प्रदेश र स्थानीय सरकार साथै हामी यी कुराहरुमा ध्यान नदिने हो भने हाम्रै पालामा हाम्रो पहिचान गुम्ने खतरा रहेको र सरोकारवाला सबैलाई यसप्रति गम्भीर हुन वहाँले आग्रह गर्नु भयो। देवास राईले आफ्नो भाषा संरक्षणमा लाग्नु सह्रानीय कार्य रहेको र यसलाई दीर्घकालिन एवम् दिगोपनका लागि विद्यालय तहको पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा जोड दिनु पर्नेमा उहाँको भनाइ थियो। साथै आफनो स्थानीय तहमा रहेका विभिन्न जातिहरुको विकासका लागि स्थानीय सरकार सचेतता पूर्वक लागिरहेको र देवास राई जातिको भाषा, संस्कृति संरक्षण र विकास लागि सकेको सहयोग गर्ने समेत वहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो।
किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय कार्यवाहक अध्यक्ष श्याम बहादुर राईको अध्यक्षता तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमा उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रसाशकिय अधिकृत ओम बहादुर दर्जी, वडा नम्बर ५ का अध्यक्ष विजय भोलन, हिमाली आदिवासी समाज नेपालका कार्यक्रम संयोजक टेसी डेमा भोटे, मेन्जु भोटे, समाजका केन्द्रीय कोषाध्यक्ष गंगा राई, मनोज बल, विवेक सिंतान लागायतकाको उपस्थिति रहेको थियो।
तालिम सम्पन्न सँगै आगामी बैशाख पहिलो सातादेखि एक महिने देवास राई भाषा सरासर पढ्ने, लेख्ने कक्षा सञ्चालन हुने जानकारी कार्यक्रम फिल्ड सुपरभाइजर राजमान राईले बताउनु भयो। कार्यक्रम मकवानपुरको बागमती गाउँपालिकाका वडा नम्बर १,२,५ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ३ नम्बर वडाहरुमा हुने कक्षामा १५ जना शिक्षक शिक्षिकाहरुद्वारा देवास राई भाषामा अध्यापन कार्य हुने वहाँले जानकारी दिनुभयो।
हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ३ गुर्जी र वडा नम्बर २ रतनपुर गरी दुई स्थानमा कक्षा सञ्चालन हुनेछ।सो स्थानहरुमा कमशस् शिक्षक द्वय शम्भु राई र राजकुमारी राईद्वारा कक्षा सञ्चालन हुनेछ। त्यसै गरी बागमती गाउँपालिको वडा नम्बर ५ ज्यामिरेमा विवेक राई, वडा नम्बर १ अन्तर्गत करौँजेमा होम बहादुर राई र बन्जरेमा विवश राई, माझगाउँमा कृष्ण ब। राई, अर्जुन राई, गोरख बहादुर राई, बोटगाउँमा बिष्णु बहादुर राई, हात्तिढुङ्गाका लागि खुशी राई, युनिसा राई र मर्कुश राई शिक्षकमा नियुक्त गरिएको छ भने वडा नम्बर २ राईगाउँका लागि ज्ञान बहादुर राई, सुरज राई, सुरेन्द्र प्रसाद राईलाई शिक्षकको रुपमा नियुक्त गरिएको फिल्ड सुपरभाइजर राईले जानकारी दिनुभयो।