मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

प्रेस चौतारीको महाधिवेशन भोलिबाट विराटनगरमा सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

Mero Patra
मेरो पत्र
प्रेस चौतारीको महाधिवेशन भोलिबाट विराटनगरमा सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्नुहुने छ । संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोली र पर्सिको लागि आवासको व्यवस्था गरेको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ ।

महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो । महाधिवेशनको लागि सबै तयारी पुरा कार्यक्रमको तयारीमा जुट्नु भएका संगठनका सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो । ‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भन्नुभयो ।

प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् ।

उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताउनुभयो । ‘ भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भन्नुभयो ।