हरिहरपुरगढीमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । पालिका प्रमुख अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा यस हरिहरपुरगढी गाउँपालिकाका सामुदायिक तथा सँस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई लक्षित गरेर सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गनुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले शिक्षित व्यक्तिहरुले नै ट्राफिक नियमको पालना नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुने हुँदा नियम पालनालाई जटिल रूपमा लिन नहुने बताउनुभयो । ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ईश्वर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, २ नम्बर वडाका अध्यक्ष विश्व राई, ८ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष अनिता राई,वडा सदस्यहरु तथा विद्यालयका प्रधानध्यापक र शिक्षकहरु लगायतको उपस्थित रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ईश्वर बहादुर थापाले दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतनाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
