बागमती गोल्डकप: फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै


बागमती: मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा साविक मछिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् ।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मचिन्द्र गत संस्करणको विजेता टोलि हो भने थ्री स्टार चौथो संस्करणको विजेता टोलि हो । गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो । शनिबारको विजेता टोलिले उपाधीका लागि सोमबार चर्च र्ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३-२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।