Skip to content

यसरी मनायो नमुनाले विश्व मानव अधिकार दिवस

यसरी मनायो नमुनाले विश्व मानव अधिकार दिवस
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर, २५ पुस — विश्व मानव अधिकार दिवसको अवसरमा नमुना इङ्ग्लिस आवासीय विद्यालय, चन्द्रनिगाहपुरमा आज विद्यार्थीहरूको सक्रिय सहभागितामा मानव अधिकारप्रति जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरियो। प्रत्येक वर्ष डिसेम्बर १० लाई विश्वभर मानव अधिकार दिवसका रूपमा मनाइने गरिएको छ। मानव प्रतिष्ठा, स्वतन्त्रता, समानता र न्यायप्रति सम्मान जगाउने उद्देश्यलाई केन्द्रमा राख्दै विद्यालयले विशेष सचेतनामूलक गतिविधिहरू आयोजना गरेको हो।


कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले मानव अधिकार कुनै विशेष वर्गका लागि मात्र नभई प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार भएको बताउँदै विद्यालय तहबाटै विद्यार्थीमा मानवता, सहिष्णुता र समानताको भावना विकास गर्नु अत्यन्त आवश्यक भएको धारणा राख्नुभयो। “विद्यालय पढाइ मात्र होइन, चरित्र निर्माणको थलो हो। मानव अधिकारबारे बुझेर सचेत बन्नु आजका युवाको पहिलो जिम्मेवारी हो,” प्रिन्सिपल श्रेष्ठले भन्नुभयो। उहाँले अनुसार अधिकारसँगै कर्तव्यबोध पनि समान महत्त्वको विषय हो र दुवैलाई संतुलित रूपमा आत्मसात् गर्न सके मात्र मानव अधिकारले वास्तविक रूप पाउनेमा जोड दिनुभयो।

विद्यालयका संस्थापक लक्ष्मी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै विश्व मानव अधिकार दिवस मानव मर्यादा र स्वतन्त्रताको संरक्षणप्रति समर्पित दिवस भएको उल्लेख गर्दा विद्यार्थीहरूलाई समाजभित्र देखिने विभेद, अन्याय, हिंसा तथा मानव अधिकार हननबारे सजग रहन आग्रह गर्नुभयो। “सानैदेखि मानव अधिकारको मूल्य बुझ्ने बानी लागेमा भोलिका नागरिक इमानदार, संवेदनशील र न्यायप्रिय बन्न सक्छन्,” उहाँले बताउनुभयो।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले तयार पारेका ब्यानर, पोस्टर र विभिन्न नारा प्रदर्शन थियो। ‘मानव अधिकार सबैको अधिकार’, ‘समानता, स्वतन्त्रता र न्याय — हाम्रो पहिचान’, ‘बालबालिकाको अधिकार सुरक्षित गरौँ’ जस्ता नारा विद्यालयपरिषद् वरिपरि गुन्जिएका थिए। विद्यार्थीहरूले समूह प्रस्तुति, भाषण, कवितामार्फत मानव अधिकारका आधारभूत तत्वहरू, विश्व मानव अधिकार घोषणापत्रबारे परिकल्पना, हनन हुने अवस्था तथा समाधानका उपायमा प्रकाश पारेका विद्यालयका कोर्डिनेटर बसन्त सुब्बाले बताउनुभयो।


उहाँका अनुसार कार्यक्रममा शिक्षक तथा विद्यार्थीबीच मानव अधिकारका वर्तमान चुनौती, विद्यालय र समुदायमा लागू गर्न सकिने व्यवहारिक अभ्यास, बालअधिकार तथा महिला–वृद्ध अधिकारजस्ता विषयमा खुला छलफल गरिएको र छलफलमा सहभागीले मानव अधिकार संरक्षण केवल कानुनी पक्षबाट मात्र होइन, सामाजिक आचरण, व्यवहार र चेतनाबाट पनि सुनिश्चित हुने निष्कर्ष निकालेको बताउनुभयो।
आगामी दिनमा पनि सामाजिक विषयमा निरन्तर शैक्षिक तथा प्रेरणादायी कार्यक्रम गर्ने योजना रहेको विद्यालयले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts