मकवानपुर, भदौ १५:मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणको लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मिति २०८२ भदौ १५ गते बिहान करिब ४:१५ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र प्रहरी चौकी बसामाडी, मकवानपुरबाट खटिएको संयुक्त टोलीले हेटौडा उपमहानगरपालिका–३ बसामाडी चौकी अगाडि पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
बा.प्र.०१–००२ ज ६५४९ नं.को EV गाडीलाई रोकि खानतलासी गर्दा ११२ किलो ७९० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । सो गाडी काभ्रे, पाँचखाल नगरपालिका–८ का २१ वर्षीय सुदिप तामाङको चालकत्वमा सञ्चालन भइरहेको थियो । साथै, ऐ.ऐ. बस्ने २० वर्षीय सविन तामाङ र दोलखा, सैलुङ गाउँपालिका–८ का २२ वर्षीय सागर तामाङ समेत पक्राउ परेका छन् ।
बरामद गरिएको लागूऔषध गाँजा र गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमती लिएर थप अनुसन्धान जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।



