मकवानपुर : थाहा नगरपालिका वडा नम्बर २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामालाई ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नको लागि अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ ।
शनिवार पालुङ जेसीजको आयोजनामा 'अस्पताल डाँडा पर्यटकीय सम्भावना,अवसर र चुनौती' बिषयक अन्तरक्रिया कार्यक्रम भएको हो। पालुङ जेसीज बर्ष २०२५का अध्यक्ष माधव कार्कीको अध्यक्षता एवम् थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख आतिथि सिन्तानले अस्पताल डाँडा थाहा नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । उनले थाहा नगरपालिका पर्यटकीय हिसाबले महत्त्वपूर्ण स्थान भएकोले यस क्षेत्रको विकासकोलागि आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले किंवदन्तीमा उल्लेख भए अनुसार रामायणकालमा हनुमानले सञ्जीवनी बुटीको पहाड बोकेर ल्याउँदा त्यसको केही भाग यस स्थानमा झरेको र यहाँ जडिबुटीहरु प्रसस्त पाईने भएको कारणले याे डाँडाको नाम अस्पताल डाँडा रहन गएकाे बताए । उनले अस्पताल डाँडामा हनुमानको ठूलो मूर्ति बनाएर प्रचारप्रसार गर्न सके ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा हिमचुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङ, वडा नं २ का वडा सदस्यहरु अर्जुन कार्की, सुनिता बिक, नेकपा (माओवादी केन्द्र)का वडा नं.२ कमिटी अध्यक्ष बिक्रम तामाङ, पालुङ जेसीज बर्ष २०२५ का उपाध्यक्ष विकेश बाबु बस्नेत, कार्यक्रम संयोजक सन्जिता बस्नेत, सह कोषाध्यक्ष नविना बिष्ट, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका महासचिव सैलेन्द्र केसी लगायत स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
थाहा नगरपालिका वडा नम्बर २ र ७ को सिमानामा रहेको यो डाँडाबाट ७ नम्बरको विभिन्न स्थानहरूका साथै थाहा नगरपालिका पालुङ्ग क्षेत्रको धेरै भूभागहरू देख्न सकिन्छ। यहाँबाट काठमाडौँको धरहरा पनि देख्न सकिन्छ । साथै विभिन्न जडिबुटी अध्ययन गर्न समेत अस्पताल डाँडा पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने कार्यक्रममा सहभागीहरुले बताए ।



