Skip to content

हरिहरपुरगढीमा पहिलो पटक गाउँपालिकास्तरीय विज्ञान प्रदर्शनी सम्पन्न

हरिहरपुरगढीमा पहिलो पटक गाउँपालिकास्तरीय विज्ञान प्रदर्शनी सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा पहिलो पटक गाउँपालिकास्तरीय विज्ञान प्रदर्शनी भव्यरूपमा सम्पन्न गरिएको छ। विज्ञान शिक्षालाई प्रोत्साहित गर्दै विद्यार्थीहरूको ज्ञान, सीप र सृजनशीलता प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त प्रदर्शनीमा गाउँपालिकाभित्रका सातवटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

गाउँपालिकाभित्रका आठ विद्यालयमध्ये ७ वटा विद्यालयको सहभागिता रहेको यस प्रदर्शनीमा कुशेश्वर मावि ढप्सारले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी क्यानेश्वर मावि पान्त दोस्रो र मावि महेन्द्रझ्याडी तेस्रो स्थानमा चयन भएका छन्।

प्रदर्शनीमा विद्यार्थीहरूले वैज्ञानिक मोडल, अनुसन्धानात्मक परियोजना, नवप्रवर्तन तथा सिर्जनात्मक प्रविधिसम्बन्धी विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले विद्यार्थीहरूको सिर्जनात्मकता र वैज्ञानिक क्षमतालाई उजागर गर्न यस्तो कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो। “आजको युग विज्ञान र प्रविधिको हो,” वाइबाले भन्नुभयो, “विद्यार्थीहरूले प्रस्तुत गरेका अवधारणाहरू सराहनीय छन्। गाउँपालिकाले आगामी दिनमा विज्ञान–प्रविधि शिक्षालाई अझ प्रभावकारी बनाउन थप प्रयास गर्नेछ।”

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यको उपस्थिती तथा शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर पुडाशैनीको अध्यक्षता रहेको थियो। पुडाशैनीले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको सिकाइलाई व्यावहारिक रूपमै अभिव्यक्त गर्न मद्दत पुग्ने बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सीप तथा ज्ञान प्रस्तुत गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका थिए। “यस्ता कार्यक्रमले हामीलाई आत्मविश्वासी बनाउनुका साथै प्रयोगमै आधारित शिक्षा सिक्न प्रेरणा दिन्छ,” उनीहरूले बताए।

प्रदर्शनीमा शिक्षक, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले विज्ञान प्रदर्शनी विद्यार्थीहरू मात्र नभई समुदायकै लागि पनि उपयोगी र प्रेरणादायी रहेको बताएका छन्।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts